हामीकहाँ विभिन्न कम्पनीहरुले आफुले गरेका उत्पादनहरुमा बम्पर उपहारको योजना ल्याएर उपभोक्ता आकषिर्त गर्छन् । चीनको एक पार्कले भने एक अनौठो उपहार योजना सार्वजनिक गरी आगन्तुकलाई आकषिर्त गर्ने मात्र होइन चर्चा र विवाद दुबै सिर्जना गरेको छ ।

दक्षिणी ग्वांगजी जुआंगमा रहेको एडभेन्चर पार्कले मिनी स्कर्ट लगाएर आउने महिलाहरुलाई पार्क प्रवेशको टिकटमा ५० प्रतिशत छुट दिने योजना सार्वजनिक गरेको छ । पार्कको उक्त घोषणासँगै त्यहाँ छोटोभन्दा छोटो स्कर्ट लगाएर आउने तरुनीहरुको भिड नै लाग्न थालेको छ । तथापि पार्कको यो कदमको चौतर्फी आलोचना हुन लागेको छ ।

त्यहाँस्थित गुइलिन म्यारिल्याण्ड रिसोर्टमा पछिल्लो दुइ महिनादेखि चलिरहेको मिनि स्कर्टलाई माया गरौँ नामको अभियानमा महिलाहरुलाई यस्तो सुविधा प्राप्त भएको हो । जस अनुसार ३८ सेन्टीमिटर वा सो भन्दा छोँटा स्कर्ट लगाएर त्यहाँ आउने महिलालाई पार्क प्रवेश शुल्कमा ५० प्रतिशत छुट दिइएको छ । पार्कको गेटमा हुने एक महिलाले महिलाको स्कर्टको लम्बाइ जाँच्ने र अर्की महिलाले सोही अनुसार टिकट बेच्ने गरेका छन् । यसरी छोटो स्कर्ट लगाउनेले ५५ युआनमा टिकट पाउने गरेका छन् ।

महिलाहरुलाई आफ्नो सुन्दरता देखाउन प्रोत्साहन गर्नका लागि यस्तो योजना ल्याइएको पार्कका अधिकारी बताउँछन् । त्यस पार्कमा मिनि स्कर्ट अभियान सँगै जल महोत्सव पनि गरिएको छ जहाँ मिनी स्कर्ट लगाएका महिलाहरु एक अर्कामा पानी छ्याँपाछ्याँप गर्न सक्छन् ।

तर पार्कको उक्त अभियानप्रति ग्वांगजी क्षेत्रका बासिन्दा भने क्रुद्ध छन् । नाफा कमाउने उद्धेश्यले पार्कले यस्तो अश्लील तथा घटीया तरिका अपनाएको उनीहरुको आरोप छ ।